
काठमाडौं, भदौ १० – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारलाई उखु किसानहरूको माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै यो स्थिति “अत्यन्त दुःखद” भएको बताएका छन्।
सोमवार सामाजिक सञ्जालमार्फत एक पोष्टमा उनले लेखेका छन्, “उखुको बोटसहित किसान सडकमा आउनु अत्यन्त दुःखद स्थिति हो। उनीहरूको माग तुरुन्त पुरा गरौं।” उनले कृषि क्षेत्रलाई प्राथमिकता दिन सरकारलाई आवश्यकता रहेको औंल्याएका छन्।
सरकारले उखु किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँ मात्र दिने निर्णय गरेको छ, जसको विरोधमा किसानहरू राजधानीमा उखुका लाक्रा बोकेर प्रदर्शन गरिरहेका छन्।
कोइरालाले सरकारमाथि प्रश्न उठाउँदै भनेका छन्, “खेतीको बेलामा मल नपाउने, किसान मल किन्न लाइनमा उभिनुपर्ने, उत्पादन भएको दूध सडकमा फाल्नुपर्ने, प्रमुख नगदे बाली उखुमा कहिले भुक्तानी नपाउने, कहिले अनुदान कटौती गर्ने—यसरी हामी कसरी खाद्यान्नमा आत्मनिर्भर हुन सक्छौं?”
उनले थप प्रश्न गरेका छन्, “कृषिलाई प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर वा भाषणमा बोलेर मात्रै हुन्छ र?” उनको चेतावनी छ कि किसानको मागलाई गम्भीरतापूर्वक सम्बोधन नगरे कृषि क्षेत्रमा दीर्घकालीन संकट आउन सक्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे