
काठमाडौं, ७ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीको केन्द्रीय समितिले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। बुधबार अन्तिम पटक स्पष्टीकरण सोध्न निर्णय गरेपछि ढकालले शुक्रबार जवाफ पेश गरेका हुन्।
ढकालले आफ्नो जवाफमा आफूले पार्टीको हितविपरीत कुनै कार्य नगरेको दाबी गरेका छन्। उनले पार्टीलाई जोगाउन लागिपरेको दाबी गर्दै सभापति रवि लामिछाने माथि गंभीर आरोप लगाएका छन्।
ढकालले लेखेका छन्, “रवि लामिछाने तपाईं ठग, भ्रष्टाचारी र राहदानी दुरुपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्नसक्छु। कारवाहीको दुस्साहस गर्दै हुनुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्। तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन यो पार्टी हितमा हो। राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ। पार्टीभित्र मात्र सिमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।”
सहकारी मुद्दामा लामिछाने ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्ने सम्भावना रहेको उल्लेख गर्दै ढकालले भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्ने चेतावनी दिएका छन्। उनले थपेका छन्, “राहदानी दुरुपयोगमा तपाईंले कहिले निर्वाचनमा भाग लिन पाउनुहुन्न। सँगै अन्य धेरै ठाउँमा किर्ते, ठगीमा संलग्न हुनुहुन्छ। तपाईं ठगी, भ्रष्टाचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ। आम पार्टी सदस्य एवं नेता गणका राजनीतिक भविष्यलाई तपाईंले कसरी आफ्नो निहित स्वार्थका लागि प्रयोग गरिरहनु भएको छ। म त छर्लङ्गै छु र पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो।”
सभापति लामिछानेले आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित गरेको र प्रश्न उठाउनेलाई कारवाही गर्ने प्रयास गरेको आरोप ढकालले लगाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे