
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट डा. अरनिको पाँडेले आफ्नो नाम फिर्ता लिएका छन्। उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन्।
फेसबुकमा लेख्दै पाँडेले आफू सधैँ देश र समाजका लागि सबैभन्दा राम्रो योगदान दिन सकिने बाटो रोज्ने प्रयास गर्ने बताए। पछिल्लो राजनीतिक परिस्थितिलाई हेर्दा रास्वपाको समानुपातिक बन्दसूचीमा बसिरहन उपयुक्त नदेखिएको भन्दै उनले केन्द्रीय समिति बैठकमै आफ्नो नाम हटाउने निर्णय जानकारी गराएको उल्लेख गरेका छन्। साथै, बन्दसूचीमा समावेश गराउने सबै पार्टी साथीहरूलाई धन्यवाद दिँदै आगामी निर्वाचनमा पार्टीलाई जिताउन सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
यसअघि पनि रास्वपाका समानुपातिक बन्दसूचीमा परेका केही चर्चित व्यक्तिहरूले उम्मेदवारी फिर्ता लिने घोषणा गरिसकेका छन्। पर्वतारोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र प्राध्यापक महेन्द्र लावतीले पनि बन्दसूचीबाट नाम फिर्ता लिएका थिए।
रास्वपाको समानुपातिक सूचीबाट एकपछि अर्को नाम फिर्ता हुन थालेपछि यस विषयले राजनीतिक वृत्तमा चासो बढाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे