
सिन्धुली — कमलामाई नगरपालिका–११ का नर बहादुर गुर्मछानका छोरा बाल बहादुर गुर्मछान र शमसेर बहादुर आलेका छोरा गणेश बहादुर आलेले क्रमशः तीन कठ्ठा र दुई कठ्ठा गरी कुल पाँच कठ्ठा जग्गा रानीचुरी स्वास्थ्य चौकीलाई निःशुल्क प्रदान गरेका छन्। २०७४ साल भदौ ४ गते स्वास्थ्य सेवाको विस्तार र सुलभ पहुँचका लागि उनीहरूले सो जग्गा हस्तान्तरण गरेका थिए।
उक्त योगदानको कदर गर्दै कमलामाई नगरपालिकाले आइतबार विशेष कार्यक्रम आयोजना गरी दाताहरुलाई सम्मान गरेको छ। नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले जग्गा दाताहरूको योगदानलाई समाजका लागि प्रेरणादायी भन्दै उनीहरूलाई सम्मान पत्रसहित धन्यवाद ज्ञापन गरेका छन्। साथै, नगरपालिकाले स्वास्थ्य चौकीको परिसरमा दाताहरूको योगदानलाई स्मरण गर्ने गरी शिलालेख राख्ने निर्णय गरेको जनाएको छ।
रानीचुरी स्वास्थ्य चौकी तथा कमलामाई नगरपालिका स्वास्थ्य शाखाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा वडा नं. ११ का अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थिङको अध्यक्षतामा सम्मान कार्यक्रम भएको हो। कार्यक्रममा वडा सदस्यहरू, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख, रानीचुरी स्वास्थ्य चौकीका प्रमुख, वडा सचिव, कर्मचारी तथा स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो।
स्वास्थ्य सेवाको पूर्वाधार विस्तारमा स्थानीय दाताहरूको योगदान महत्वपूर्ण हुने बताइए पनि सरकारले यस्ता समाजसेवी कार्यलाई थप प्रोत्साहन गर्नुपर्ने माग उठिरहेको छ। स्थानीय तहबाट यस्ता दाताहरूलाई प्रोत्साहन गर्ने दीर्घकालीन नीति आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे