
काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गर्ने निर्णय गरेको छ। बुधबार नयाँ बानेश्वरमा बसेको भेलामा केन्द्र, प्रदेश तथा वरिष्ठ नेताहरूको सहभागिता रहेको थियो।
श्रेष्ठविरुद्ध नेतृत्व क्षमताको प्रश्न उठाउँदै अध्यक्षबाट हटाउने प्रस्ताव बहुमतले पारित गरिएको हो। पार्टी स्रोतका अनुसार, श्रेष्ठको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै प्रतिनिधिहरूले उनको विश्वास गुमिसकेको निष्कर्षसहित नयाँ नेतृत्व आवश्यक भएको बताएका थिए।
श्रेष्ठलाई साधारण सदस्यबाटसमेत हटाइएको नाउपाले स्पष्ट पारेको छ। पोखराको लिचीबारी जग्गा प्रकरणमा मुछिएकी श्रेष्ठले अनुशासन समितिको २४ घन्टे स्पष्टीकरण मागलाई बेवास्ता गर्दै वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेकी थिइन्। तर, सो निर्णयप्रति पार्टीभित्र तीव्र असहमति जनाइएको थियो।
श्रेष्ठ राष्ट्रिय भेलामा समेत अनुपस्थित रहेपछि पार्टीको अनुशासन समितिले बुधबार उनलाई औपचारिक रूपमा अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो।
पार्टीभित्र देखिएको नेतृत्व संकट, पारदर्शिताको अभाव, र संरक्षक रेशम चौधरीसँगको बढ्दो मतभेद नै नेतृत्व परिवर्तनको मुख्य कारणका रूपमा देखिएको छ। केही दिनअघि चौधरीले सार्वजनिक भिडियोमार्फत अध्यक्ष श्रेष्ठको आलोचना गर्दै पार्टीको भविष्यबारे गम्भीर प्रश्न उठाएका थिए।
भेलाले नयाँ कार्यवाहक अध्यक्ष चयनबारे छलफल सुरु गरेको छ भने विभिन्न नेताहरूको नाम प्रस्तावमा रहे पनि अन्तिम टुंगो भने लागिसकेको छैन। पार्टीले केन्द्रीय कार्यसमिति पनि पुनर्गठन गर्ने तयारी गरिरहेको जनाइएको छ, यद्यपि हालसम्म निर्वाचन आयोगमा अद्यावधिक गरिएको छैन।
यस निर्णयसँगै नागरिक उन्मुक्ति पार्टीमा नेतृत्वको पुनःस्थापनाको चरण सुरु भएको छ, जसले पार्टीको आगामी राजनीतिक दिशा र स्थायित्वमा उल्लेखनीय असर पार्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे