
काठमाडौँ । सरकारका सहसचिवहरूका लागि आयोजना गरिएको उच्च पदस्थ कार्यकारी विकास कार्यक्रममा कार्यस्थलमा हुने यौन शोषण, दुर्व्यवहार तथा यौन उत्पीडनको रोकथामसम्बन्धी विषयमा स्रोत व्यक्तिका रूपमा बन्दना राणाले “कार्यस्थलमा यौन शोषण, दुर्व्यवहार तथा यौन उत्पीडनको रोकथाम” विषयमा सत्र सञ्चालन गर्नुभएको छ। उक्त कार्यक्रममा सुरक्षित, सम्मानजनक र जवाफदेही कार्यस्थल निर्माणका विषयमा गहन छलफल गरिएको थियो।
सत्रमा यौन हिंसाप्रति शून्य सहिष्णुताको सिद्धान्त, अन्तर्राष्ट्रिय समुदायका मान्य नीतिहरू, नेपालले वहन गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्वहरू, संस्थागत आचारसंहिता, गोपनीयता संरक्षण र पीडित–केन्द्रित दृष्टिकोणमा आधारित उजुरी तथा अनुसन्धान प्रक्रियाको आवश्यकता लगायतका विषयमा विस्तृत चर्चा गरिएको थियो।
कार्यस्थलमा हुने यौन दुर्व्यवहार र उत्पीडन रोकथाममा वरिष्ठ कार्यकारी नेतृत्वको भूमिका निर्णायक हुने उल्लेख गर्दै सहभागीहरूलाई संस्थागत प्रतिबद्धता र व्यवहारिक कार्यान्वयनमा जोड दिन आग्रह गरिएको थियो। सुरक्षित कार्यस्थल निर्माणका लागि नेतृत्व तहबाट स्पष्ट नीति, संवेदनशील व्यवहार र प्रभावकारी अनुगमन आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
कार्यक्रमकै क्रममा माननीय न्यायाधीश सपना प्रधान मल्लद्वारा प्रस्तुत कानुनी प्रावधानसम्बन्धी, उक्त सत्रमा विद्यमान कानुनी व्यवस्था, कार्यान्वयनका चुनौती र न्याय सुनिश्चित गर्ने संयन्त्रबारे प्रकाश पारिएको थियो।
कार्यक्रममा दिगो परिवर्तन सशक्त नेतृत्व, संस्थागत इमानदारी र निरन्तर प्रतिबद्धताबाट मात्र सम्भव हुने निष्कर्ष प्रस्तुत गरिएको छ। कार्यस्थलमा सम्मान, सुरक्षा र समानताको संस्कृति विकास गर्नु राज्य संयन्त्रका उच्च तहका नेतृत्वकर्ताहरूको साझा जिम्मेवारी रहेकोमा जोड दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे