
काठमाडौँ — काठमाडौँ महानगरपालिकाले इन्टरनेट तथा प्रविधिजन्य जोखिमबाट नागरिकलाई जोगाउन तथा विद्युतीय सेवाको सुरक्षित उपयोगबारे सचेत बनाउन डिजिटल साक्षरता प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ। महानगरको सूचना प्रविधि समितिको बैठकले प्रविधिको बढ्दो प्रयोगलाई सुरक्षित, उपयोगी र जनमैत्री बनाउन चरणबद्ध रूपमा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो।
समितिका अनुसार, प्रशिक्षण कार्यक्रम तीन तह — आधारभूत, मध्यम र विशिष्ट — मा विभाजन गरी सञ्चालन गरिनेछ। विशेषगरी स्मार्टफोनको सुरक्षित प्रयोग, एप्लिकेसनका जोखिम, मोबाइल डेटा र वाइफाइ सुरक्षा, व्यक्तिगत जानकारी चोरीबाट जोगिने उपायलगायत विषयहरूलाई प्राथमिकतामा राखिएको छ। समितिले मोबाइल बैंकिङ, डिजिटल वालेट, अनलाइन भुक्तानीमा हुनसक्ने ठगी र रोकथामका उपायबारे नागरिकलाई अनिवार्य रूपमा दक्ष बनाउनुपर्ने आवश्यकता औँल्याएको छ।
साइबर सुरक्षा सुदृढीकरणका लागि बलियो पासवर्ड प्रयोग, ओटीपी सुरक्षा, शंकास्पद लिङ्क पहिचान, एन्टिभाइरस प्रयोगबारे समेत प्रशिक्षण दिइनेछ। साथै सामाजिक सञ्जालको सुरक्षित प्रयोग, डिजिटल फुटप्रिन्ट, भ्रामक समाचार पहिचान तथा सूचनाको स्रोत प्रमाणिकरण सम्बन्धी विषयमा पनि नागरिकलाई सशक्त बनाइने महानगरले जनाएको छ।
कम्प्युटरका आधारभूत प्रयोगदेखि ब्राउजिङ, इमेल सञ्चार, भिडियो कन्फ्रेन्सिङ, डकुमेन्ट, स्प्रेडसिट र प्रेजेन्टेसनसमेत प्रयोग गर्न सक्ने बनाउने उद्देश्य प्रशिक्षणको रहेको समितिले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे