
काभ्रेपलाञ्चोक। असोजको दोस्रो सातामा आएको बाढीपहिरोले धुलिखेल नगरपालिकामा रु एक अर्बको क्षति पु-याएपछि नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’को घोषणा गर्न आग्रह गरेको छ। नगरप्रमुख अशोक ब्याञ्जूसहितका जनप्रतिनिधिहरूले आइतबार उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरेर यो माग गरेका थिए।
उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपद्पछि पुनःनिर्माणका लागि सरकारको भूमिकाबारे जानकारी गराएको बताएका छन्। ज्ञापनपत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल र इटोलका फोहोर पानी प्रशोधन केन्द्रहरूको पुनःनिर्माणका लागि ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ। नगरप्रमुखका अनुसार, धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमाथि पनि सरकारले सहजीकरण गर्नुपर्ने कुरा उठाइएको छ।
गृहमन्त्री लेखकलाई नगरप्रमुखले विभिन्न क्षेत्रका पूर्वाधार र निजी आवाससमेत गरी करिब रु एक अर्बको क्षति भएको प्रारम्भिक तथ्याङ्क प्रस्तुत गरेका छन्। नगर कार्यालयका अनुसार बाढीपहिरोले धुलिखेल नगरका वडाहरूमा व्यापक क्षति पुगेको छ, जसका कारण वडा नं १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा धेरै क्षति भएको जानकारी दिइएको छ। यस बाढीपहिरोका कारण ८ र ११ नं वडामा दुई नागरिकले ज्यानसमेत गुमाएको उल्लेख गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिले कात्तिकको पहिलो सातामा काभ्रेपलाञ्चोकलाई सङ्कटग्रस्त क्षेत्रको रूपमा घोषणा गर्ने निर्णय गरेको जनाएको छ। नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्ण रूपमा र ५७२ घर आंशिक रूपमा क्षति पुगेको छ। धिताल खोलाहुँदै बहने सिँचाइमा रु ५० लाखको क्षति भएको र ८.५ किलोमिटरको पक्की सडक, ८० किलोमिटर ग्राभेल सडक तथा ११० किलोमिटर कच्ची सडक पूर्ण क्षति भएको बताइएको छ।
पशुधनमा रु १८ लाखको क्षति र ११ विद्यालयमा रु ५ करोड २५ लाखको क्षति भएको जानकारी प्राप्त भएको छ। यसैगरी, नगरको आफ्नै फाइबर केबुल, टिफिन बक्स, क्यामेरा र अन्य विभिन्न उपकरणमा क्षति पुगेको पनि नगरप्रमुख ब्याञ्जूले बताएका छन्। नगरले निजी आवास बाहेक रु ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ।
जिल्ला सदरमुकाम धुलिखेलमा रहेका विभिन्न संरचनामा पनि क्षति पुगेको जानकारी दिइएको छ। नेपाली सेनाको काली जङ्ग गण, बाल मन्दिर विद्यालय, खेल मैदान, प्रादेशिक ल्याब, जिल्ला समन्वय समिति, कृषि विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय र सञ्जीवनी स्कुलमा समेत क्षति भएको बताइएको छ।
धुलिखेल नगरपालिकाले बाढीपहिरोले क्षतिग्रस्त बनाएको खानेपानीको पुनःनिर्माणका लागि जर्मन सरकारसँग सहयोगको माग गरेको छ। नगरले नेपालका लागि जर्मनीका राजदूत डा थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको जनाएको छ। खानेपानी आयोजना पुनःनिर्माणका लागि रु तीन करोड ५१ लाखको अनुमान गरिएको छ।
राजदूत प्रिन्जले खानेपानीको पुनःनिर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नगरप्रमुख ब्याञ्जूका अनुसार बाढीपहिरोले नगरका ३, ४, ५, ६ र ८ का उपभोक्ताहरूलाई एक महिनादेखि खानेपानीविहीन बनाएको छ। बाढीपहिरोबाट नगरका दश वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, र पशुपंक्षीमा क्षति पुगेको छ। यस घटनामा दुई जनाले ज्यान गुमाएको र एक महिला अझै बेपत्ता रहेको जानकारी प्राप्त भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे