
काठमाडौँ । झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले आफूमाथि अनावश्यक घृणा फैलाइएको भन्दै आपत्ति जनाउनुभएको छ। सोमबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घिमिरेको कडा आलोचना गरेका छन् ।
झापा–२ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगरको पक्षमा मत माग्दै लामिछानेले, संसद्मा जनताको आवाज उठाउँदा माइक काट्ने व्यक्तिले कुन मुख लिएर भोट मागिरहेको हो भनेर प्रश्न गरेका थिए। उनले भिजिट भिसा प्रकरणमा कुरा उठाउँदा आफूहरूको माइक काटिएको दाबी पनि गरे।
यसको जवाफ दिँदै घिमिरेले संसद्मा बोल्ने समय र माइक काट्ने विषय सभामुखको व्यक्तिगत चाहनाले नभई संसदीय नियम र तोकिएको समयअनुसार हुने स्पष्ट पारे। उनले संसद्को वेबसाइट हेर्दा आफू मात्र होइन, अन्य सभामुख वा बैठक सञ्चालन गर्ने सदस्यहरूको पालामा पनि माइक काटिएको उदाहरण भेटिने बताए।
लामिछानेबाट फैलाइएको घृणाप्रति खेद व्यक्त गर्दै घिमिरेले प्रतिशोधको भावना फैलाएर जनतालाई भ्रममा नपार्न आग्रह गरेका छन्। आफूले प्रतिस्पर्धी उम्मेदवारविरुद्ध टिप्पणी नगर्ने अडान लिएको स्मरण गराउँदै उनले चुनाव सभ्य, शिष्ट र मुद्दामुखी हुनुपर्ने धारणा राखे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे