
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल राष्ट्रिय वाणिज्य बैंक (रास्वाबैं) को नयाँ अध्यक्षमा नियुक्त भएका छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलद्वारा बैंक सञ्चालक समितिको सदस्यमा मनोनयन गरिएपछि आज बिहान बसेको समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो।
बैंक तथा वित्तीय क्षेत्रको नियमन तथा निरीक्षणमा झण्डै दुई दशक लामो अनुभव बोकेका ढकाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा जिम्मेवारी सम्हालिसकेका व्यक्तित्व हुन्। उनी चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त भएका हुन्।
ढकाल बैंकिङ अपरेसन तथा प्रशासनिक दक्षताका विज्ञका रूपमा पनि परिचित छन्। वाणिज्य बैंकको नेतृत्वमा आउँदा संस्थागत सुधार, जोखिम व्यवस्थापन र बैंकिङ पारदर्शितामा नयाँ दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।
उनको नेतृत्वमा बैंकले डिजिटलाइजेसन, नवप्रवर्तन, वित्तीय पहुँच विस्तार, र रणनीतिक साझेदारीजस्ता क्षेत्रलाई प्राथमिकता दिने सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे