
काठमाडौं । देशको समसामयिक राजनीतिमा दुई फरक ध्रुवमा रहेका शीर्ष नेताहरूबीच भएका भेटवार्ताले राजनीतिक सरगर्मी बढाएको छ। एकातर्फ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच औपचारिक संवाद भएको छ भने अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच सहकार्यको सम्भावना थप बलियो बनेको देखिएको छ।
सोमबार देउवा र ओलीबीच देउवाको महाराजगञ्जस्थित निवासमा भेटवार्ता सम्पन्न भएको हो। भेटमा एमालेका महासचिव शंकर पोखरेल पनि सहभागी हुनुहुन्थ्यो। भदौ ८ र ९ गतेको जेन–जी आन्दोलनपछि यी दुई शीर्ष नेताबीच भएको यो दोस्रो औपचारिक भेट हो। यसअघि उनीहरू गत मंसिर ५ गते पनि सोही स्थानमा भेटिएका थिए। पछिल्लो भेटलाई समसामयिक राजनीतिक अवस्था र राष्ट्रिय मुद्दाका सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ।
देउवाको सचिवालयका अनुसार सभापति देउवाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वमा पुनःनिर्वाचित भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। भेटमा वर्तमान राजनीतिक परिस्थिति, राष्ट्रिय चासोका विषय र आपसी सरोकारका मुद्दामा छलफल भएको जनाइएको छ। यद्यपि, छलफलको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पूरक रिट दर्ता गर्ने तयारी भइरहेका बेला भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
उता, जेन–जी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिवेश र आसन्न निर्वाचनलाई ध्यानमा राख्दै रवि लामिछाने र बालेन शाहबीच सहकार्यको सम्भावना देखिन थालेको छ। वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकै मोर्चामा ल्याउने उद्देश्यसहित सोमबार राति दुई नेताबीच करिब सात घण्टा लामो छलफल भएको स्रोतहरूले बताएका छन्। कमलपोखरीस्थित रास्वपा नेता असिम शाहको कार्यालयमा भएको उक्त भेटपछि दुवै नेता एउटै गाडीमा बाहिरिएका थिए, जसलाई वैकल्पिक राजनीतिक ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ।
वार्ताको सहजीकरण गरेका सांसद असिम शाहले यो भेट लामो समयदेखि अपेक्षित रहेको र देशको आवश्यकताबाट उत्पन्न संवाद भएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार दुई नेताबीच यसअघि कहिल्यै यस स्तरको खुला संवाद भएको थिएन। छलफलमा निर्वाचनअघि वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउने विषयमा सहमति बनेको दाबी गरिएको छ।
रास्वपा स्रोतका अनुसार छलफलमा ‘मिलेर अघि बढ्ने र एक–अर्कालाई साथ दिने’ निष्कर्ष निकालिएको छ। वार्तामा रास्वपा उपसभापति डिपी अर्याल, मेयर शाहका सहयोगी कुमार बेन र जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङ पनि सहभागी थिए। यद्यपि, बालेन शाहलाई प्रधानमन्त्री बनाउने चर्चाबारे कुनै ठोस राजनीतिक निर्णय नभएको स्पष्ट पारिएको छ।
रास्वपाले वैकल्पिक शक्ति निर्माणको प्रयासलाई निरन्तरता दिँदै अन्य राजनीतिक तथा सामाजिक नेतृत्वसँग पनि संवाद अघि बढाइरहेको जनाएको छ। पार्टीका अनुसार लामिछाने र शाहबीचको सहकार्यको ढाँचा र आगामी राजनीतिक यात्राबारे थप विवरण चाँडै सार्वजनिक गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे