
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट टिकट नपाएपछि पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत टिकट नपाएको विषयमा आफ्नो धारणा राखेका हुन्।
दैलेख–२ बाट उनी पार्टीका कार्यकर्ता, जिल्ला र प्रदेश कमिटीको पहिलो रोजाइमा परे पनि अन्ततः टिकट पाएनन्। रिजालले आम निर्वाचनमा पार्टीलाई जिताउन नेता–कार्यकर्ता सबैले आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्ने बताएका छन्। कोही उम्मेदवारका रूपमा, कोही प्रचार–प्रसार र व्यवस्थापनमा लागे पनि लक्ष्य एउटै हुने उनको भनाइ छ। सबै एकजुट भएर नलागे चुनाव जित्न नसकिने पनि उनले उल्लेख गरेका छन्।
उनले कसले टिकट पायो भन्ने विषयलाई अहिले त्यति ठूलो नबनाउन आग्रह गर्दै यसपटक नपाएकाले अर्को पटक पाउन सक्ने बताए। अहिले पार्टीमाथि दबाब र आक्रमण बढेको भन्दै सबै मिलेर पार्टीलाई बलियो बनाउनु आवश्यक रहेको उनले बताएका छन्।
उनका अनुसार एमाले निर्णायक राष्ट्रिय शक्ति नबनेसम्म देश रूपान्तरणका बाँकी काम पूरा हुन सक्दैनन्। उनले यो निर्वाचन ‘भत्काउने र बनाउने’, ‘जलाउने र जोगाउने’ बीचको जनमत संग्रह जस्तै भएको पनि बताएका छन्।
अन्त्यमा, रिजालले टिकट पाएका एमालेका सबै उम्मेदवारलाई शुभकामना दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे