
काठमाडौं । मधेश प्रदेश सरकारले फागुन ७ गते प्रजातन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाउने तयारी गरेको छ । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा प्रदेश सरकारले प्रजातन्त्र दिवसमा विविध कार्यक्रम गर्ने योजना रहेको जानकारी गराएका छन् ।
मन्त्री लेखीका अनुसार, प्रजातन्त्र दिवसको अवसरमा देश र संविधानको वर्तमान अवस्था तथा प्रजातन्त्र प्राप्तिपछि हासिल भएका उपलब्धिहरूबारे सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । साथै, सप्तरीस्थित ऐतिहासिक छिन्नमस्ता भगवती मन्दिरमा ११,००० दिप प्रज्ज्वलन गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।
मन्त्री लेखीले प्रजातन्त्र सेनानीहरूको सम्मान प्रदेश सरकारले मात्र नभई सम्पूर्ण नेपालीले गर्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले प्रजातन्त्रका उपलब्धिहरूले नेपाली जनताले स्वतन्त्र र खुला रूपमा बाँच्न पाएको उल्लेख गर्दै आगामी वर्षहरूमा प्रजातन्त्र दिवसलाई अझ भव्य रूपमा मनाउने तथा प्रजातन्त्र सेनानीहरू र उनीहरूका परिवारजनका लागि विशेष व्यवस्था गर्ने प्रदेश सरकारको योजना रहेको बताएका छन् ।
मधेश प्रदेश सरकारले सहिद दिवस, बलिदानी दिवस र प्रजातन्त्र दिवसलाई प्रत्येक वर्ष धुमधामका साथ मनाउँदै आएको छ । सोही क्रममा यस वर्षको प्रजातन्त्र दिवसका अवसरमा दिप प्रज्ज्वलन र अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे