
काठमाडौं — प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले अवैध सुन कारोबार, महिला श्रमिक पठाइने प्रक्रिया, न्यायालयप्रतिको विश्वास, गुठी समस्या, कर्णालीको विकास र घरेलु मदिरा उत्पादनलाई मान्यता दिने मागसमेत विभिन्न मुद्दा उठाएका छन्।
सांसद रामहरि खतिवडाले हालै टोखामा अवैध रूपमा सुन बोकिएको समातिए पनि केवल चालक मात्र पक्राउ परेको, तर त्यसको वास्तविक साहू कसरी छुटाइएको भन्ने विषय सार्वजनिक नभएको बताए। उनले यस्तो अवैध कारोबारमा संलग्न व्यक्तिहरू पनि पक्राउ गरी खुलासा गर्नुपर्ने माग गरे। यसअघि आइतबार रसुवामा पनि अवैध सुन ओसारपसार गर्दा समातिएको घटनालाई उनले उल्लेख गरे।
खतिवडाले नै धेरै रकम लिएर महिलालाई “हाउस मेड” को नाममा विदेश पठाइने प्रचलन रोक्न कानुनी व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।
सांसद मनिष झाले न्यायालयप्रतिको जनताको विश्वास घट्दै गएको चिन्ता व्यक्त गर्दै यसलाई बढाउने वातावरण निर्माण गर्नुपर्ने बताए।
सिन्धुपाल्चोकका सांसद माधव सापकोटाले जिल्लामा १४६ प्रकारका गुठी रहेको र यसले किसानलाई पीडा दिइरहेको बताए। उनले गुठी समस्याको समाधान गर्न विधेयक ल्याउन सरकारसँग माग गरे।
सांसद मैना कार्कीले कर्णाली प्रदेशलाई “दयाको” नभएर “सम्भावनाको” दृष्टिकोणले हेर्नुपर्ने बताए। उनले जडीबुटी, अर्गानिक कृषि जस्ता क्षेत्रमा कर्णालीको पहिचान बनेकाले यसको प्रवद्र्धन गर्न बजेट व्यवस्था गर्न माग गरिन्।
सांसद रणकुमारी बलम्पाखी मगरले स्थानीय स्तरमा उत्पादन हुने घरेलु मदिरालाई मान्यता दिने नीति बजेटमार्फत ल्याउन माग गरेकी छिन्
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे