
काठमाडौँ । संयुक्त राज्य अमेरिकाले क्युबामा तेल आपूर्तिमा कडाइ गरेपछि त्यहाँ गम्भीर ऊर्जा संकट उत्पन्न भएको छ। इन्धनको अभावका कारण देशभर लामो समयसम्म बिजुली काटिने समस्या देखिएको छ, अस्पतालहरूमा दबाब बढेको छ र धेरै जेट विमानहरू उडान गर्न नसक्ने अवस्थामा पुगेका छन्।
क्युबाली उड्डयन अधिकारीहरूले सोमबार अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई देशमा जेट इन्धन सकिएको जानकारी दिएका छन्। यसका कारण एक महिनासम्म विमानहरूलाई इन्धन भर्ने सेवा रोकिएको छ। इन्धन अभाव भएपछि केही विमान कम्पनीहरूले उडान नै स्थगित गर्न थालेका छन्।
यसैबीच, एयर क्यानडाले क्युबामा इन्धन नपाएपछि आफ्नो सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना कार्यकारी आदेश जारी गर्दै क्युबालाई तेल बेच्ने वा आपूर्ति गर्ने देशहरूमाथि कर लगाउने घोषणा गरेपछि समस्या झन् बढेको हो।
अमेरिकाको लामो समयदेखिको प्रतिबन्धका कारण क्युबाको अर्थतन्त्र पहिल्यै कमजोर अवस्थामा थियो। त्यसमा पनि क्युबाको मुख्य तेल आपूर्तिकर्ता भेनेजुएलाबाट आपूर्ति रोकिएपछि अवस्था झन् बिग्रिएको छ। अब मेक्सिकोले पनि अमेरिकाको कर धम्कीपछि क्युबामा तेल पठाउन बन्द गर्ने घोषणा गरेको छ।
फाइनान्सियल टाइम्सका अनुसार क्युबासँग हालको खपतअनुसार १५ देखि २० दिन मात्र पुग्ने तेल भण्डार बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे