
काठमाडौँ । चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान तथा दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ।
प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिन आमालाई सम्मान र श्रद्धा व्यक्त गर्दै मनाइने मातातीर्थ औँसीको अवसरमा कुण्डमा स्नान र आमाको प्रतिमाको दर्शन गर्ने परम्परा रहेको बताइएको छ। भक्तजनले अघिल्लो साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बसेका थिए र बिहानै स्नानका लागि कुण्ड पुगेका थिए।
मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थित रूपमा कुण्डमा स्नान गर्न मिल्ने व्यवस्था मिलाइएको जानकारी दिएका थिए। अध्यक्ष उदासका अनुसार मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमाप्रति तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले यहाँ भक्तजनको बाक्लो उपस्थिति हुने गरेको हो।
आज मातातीर्थ औँसीलाई आमाको मुख हेर्ने पर्वका रूपमा देशभर श्रद्धापूर्वक मनाइएको छ। अध्यक्ष उदासले शास्त्रमा पिताभन्दा आमा ठूलो मानिएको उल्लेख गर्दै आमाप्रति श्रद्धा, भक्ति र आदर व्यक्त गर्ने तथा आमाबाट शुभाशीर्वाद प्राप्त गर्ने दिनका रूपमा यस पर्वको महत्व रहेको बताएका थिए।
परम्पराअनुसार छोराछोरीहरूले बिहानै स्नान गरी आमालाई नयाँ लुगा र मिठा खानेकुरा अर्पण गर्दै आशीर्वाद थापेका थिए। आमा नभएका सन्तानहरूले भने आमाको सम्झनामा तर्पण, पिण्डदान तथा पुरोहितलाई सिदा र भोजन प्रदान गरेका थिए।
मातातीर्थ मेलाको अवसरमा चन्द्रागिरि नगरपालिकाले आज नगरभित्र सार्वजनिक बिदा दिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे