
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले फरार अभियुक्त जिबी राईलाई पक्राउ गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शाहीले सरकारले नै जिबी राईलाई लुकाएको गम्भीर आरोप लगाउँदै तत्काल फिर्ता ल्याउन दबाब दिएका हुन्।
उनले गृहमन्त्रीले अघिल्लो समयमा प्रतिपक्षमा रहँदा राईलाई पक्राउ गरेर ल्याउने अभिव्यक्ति दिएको स्मरण गराउँदै अहिले सत्ता सम्हालेपछि सो विषयमा कुनै चासो नदेखाएको भन्दै आलोचना गरे। शाहीले जिबी राईको खोजी र कारबाहीका लागि सरकारले इच्छाशक्ति देखाउनुपर्ने धारणा राखे।
‘जिबी राई अहिले कहाँ छन् ? सरकारले उनलाई कति अर्बमा डिल गर्यो ? हिजो प्रतिपक्षमा हुँदा पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन कुनामा लुकेर बस्नुभएको छ ? जिबी राई आवश्यक छ नेपालमा, सरकार चाह्यो भने कानुनी रुपमा ल्याउन सक्दैन भन्ने कुनै आधार छैन,’ शाहीले प्रश्न गरे।
साथै, उनले सहकारी अनियमितता छानबिनका लागि गठन गरिएको जस्तो भिजिट भिसामा समेत छानबिन समिति गठन गर्नुपर्ने माग राखे। अपराधको गम्भीरतालाई हेरेर समिति बनाउनुपर्ने भन्दै उनले संख्याको आधारमा मात्र समिति नबनाउन आग्रह गरे।
शाहीले जनताका सवालमा सरकार संवेदनशील नभएको र सत्तामा पुगेपछि नैतिकता भुलिएको आरोप पनि लगाए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे