
काठमाडौँ, १५ श्रावण । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जनार्दन शर्मा पुनः अर्थमन्त्रिमा नियुक्तको प्रतिवाद गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा आज आइतबार पुनः सोही मन्त्रालयमा मन्त्री बनाएपछि एमालेले कडा रुपमा प्रस्तुत हुने बताएको हो ।
एमाले प्रमुख सचेतक बिशाल भट्टराईले अर्थमन्त्री नियुक्त हुनभएका जनार्दन शर्माविरुद्ध सडक र सदनबाट विरोध गर्ने बताउनु भयो । संसदीय छानविन समितिको फरकमतलाई बेवास्ता गरेको भन्दै सडक र सदनबाट विरोध गर्ने जानकारी उहाँले दिनुभयो । ’बहुमतका नाममा अल्पमतलाई पेल्ने काम भयो । फरक मत लिएर जनताका बीचमा जान्छौं । सडक र सदनबाटै आन्दोलन गर्छौं । कडा रुपमा प्रतिवाद गर्छौं,’ भट्टराईले भन्नुभयो ।
आर्थिक वर्ष २०७९र०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई राजस्वका दर हेरफेर गरेपछि विवादमा आएका शर्माले असार २२ गते अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । शर्मामाथि केही व्यवसायीलाई अनुकूल हुने गरी राजस्वका दरहरू हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि सरकारले उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरेको थियो ।
संसदीय छानबिन विशेष समितिले बहुमतका आधारमा बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागी भएको नपाइएको निष्कर्ष निकालेको थियो । तर एमालेले फरक मत राखेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे