
काठमाण्डौ। तारकेश्वर नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०८१/८२ अन्तर्गत उपभोक्ता शिक्षा सम्बन्धी कार्यक्रम मिति २०८१ फाल्गुण २५ गते, आइतबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। नगर प्रमुख श्री कृष्ण हरि महर्जनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, वडा सचिवहरू, नगरपालिका कर्मचारीहरू तथा प्रत्येक वडाबाट उपभोक्ता समितिका प्रतिनिधिहरूको उपस्थिति रहेको बताइएको छ।
कार्यक्रमको उद्घाटन नगर प्रमुख महर्जनले ब्यानर वाचन गर्दै गर्नुभएको थियो। उहाँले उपभोक्ता समितिलाई योजनाको कार्यान्वयन गर्दा गुणस्तरमा सम्झौता नगर्न निर्देशन दिँदै आफ्नो वडा, समाज तथा टोलको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। साथै, समितिमा योजनासँग सम्बन्धित विज्ञ वा जानकार व्यक्तिहरूलाई समावेश गरे मात्र कार्यक्रम सफल हुन सक्ने विचार राख्नुभएको छ।
पुर्व उपसचिव तथा कार्यक्रमका विज्ञ सुकदेव नेपालले उपभोक्ता समितिसम्बन्धी प्रस्तुतीकरण दिएका थिए भने वडा नं. १ का अध्यक्ष बिदुर सापकोटाले उक्त कार्यक्रमले योजना तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। योजना शाखा प्रमुख शोभा श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रमको सञ्चालन इन्दुस्वरी आचार्यले गर्नुभएको थियो।
यद्यपि, कार्यक्रमको प्रभावकारिता, सहभागीहरूको संलग्नता तथा योजनाको कार्यान्वयन प्रक्रियामा पार्ने प्रभावबारे थप मूल्याङ्कन आवश्यक देखिन्छ। यस्ता कार्यक्रमहरूलाई दीर्घकालीनरूपमा प्रभावकारी बनाउन, उपभोक्ता समितिहरूको निरन्तर अनुगमन, वित्तीय पारदर्शिता तथा सेवा प्रवाह सुधारमा ध्यान दिनु पर्ने विज्ञहरू बताउँछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे