
काठमाडौँ, ५ भाद्र । प्रमुख दलहरुबिच सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउन सहमत भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका अनुसार सिंहदरबारमा सोमबार राति बसेको सर्वदलीय बैठकले सर्वदलीय समिति गठनमा सहमति जुटेको हो ।
बैठकपछि बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सुनकाण्डको विषयमा जाँचबुझ आयोग बन्ने र सीआईबीले पनि निरन्तर अनुसन्धान जारी राख्ने गरी सहमति जुटेको बताए। यसको सहमतिको मस्यौदा तयार गर्न तीन सदस्य समिति गठन गरिएको छ।
मङ्गलबारसम्म छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डे सदस्य रहने गरी आजको बैठकले कार्यादेश समिति गठन गरेको छ।
समितिले तयार पारेको मस्यौदामा आज दिउँसो २ बजे हस्ताक्षर गर्ने र ३ बजे हुने संसद्को बैठक सुचारु गर्ने सहमति भएको छ।
लामो समयदेखिको संसद्को गतिरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय दलहरूको बैठक आह्वान गरेका थिए। राष्ट्रिय दलहरुको आजको बैठकमा संसद् सञ्चालन गर्नेबारे सकारात्मक छलफल भएको तथा त्यसका लागि सबै विकल्प र सम्भावना खोजिने गरी दलहरुबीच सहमति भएको कांग्रेस नेता लेखकले जानकारी दिए। उनले अब निर्धारित समयमै संसद् बैठक बस्ने सहमति भएको समेत बताए।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवलगायतको सहभागी थिए।
सुन तस्करीमा उच्चस्तरीय छानबिनको माग गर्दै नेकपा एमालेले गत साउन १० देखि संसद अवरुद्ध पार्दै आएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे