
काठमाडौँ । भदौ २३ र २४ मा भएका घटनाको छानबिन गर्न बनेको सरकारी आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयान दिन बोलाएको छ। आयोगले ओलीलाई पत्र पठाएर बयानका लागि उपस्थित हुन आग्रह गरेको हो। सार्वजनिक रूपमा “किन बयान दिन जानेरु” भन्दै आपत्ति जनाउँदै आएका ओलीलाई आयोगले औपचारिक रूपमा पत्र काटेको हो।
स्रोतका अनुसार आयोगको पत्र ओली बस्दै आएको भक्तपुरको गुन्डुस्थित निवासमै पुगेर बुझाइएको छ। यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, सुरक्षा निकायका प्रमुखहरू र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग बयान लिइसकेको छ। अब ओलीको बयान मात्र बाँकी रहेको बताइएको छ।
तर ओलीले आयोगका अध्यक्ष कार्कीले पहिले दिएका विवादित अभिव्यक्तिका कारण निष्पक्षता नहुने भन्दै सो आयोगसमक्ष बयान नदिने अडान लिइरहेका छन्। सरकारको निर्णयअनुसार असोज ६ गते कार्कीको संयोजकत्वमा आयोग गठन गरिएको थियो, जसमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। तीन महिनाको समय पाएको आयोगको म्याद एक महिना थपिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे