
काठमाडौं। वाणिज्य बैंकहरूले आगामी वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार अधिकांश बैंकहरूले ब्याजदर घटाउने नीति अवलम्बन गरेका छन् भने केही बैंकहरूले अघिल्लो महिनाकै दरलाई यथावत राखेका छन्। समग्रमा बैंकिङ क्षेत्रमा ब्याजदर घट्ने प्रवृत्ति देखिएको छ।
उपलब्ध तथ्यांकअनुसार वैशाखका लागि नौ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् भने दस बैंकहरूले चैत महिनाकै दरलाई निरन्तरता दिएका छन्। ब्याजदर वृद्धि गर्नेमा भने कृषि विकास बैंक मात्र देखिएको छ, जसले साधारण बचत खातादेखि संस्थागत मुद्दती निक्षेपसम्मको ब्याजदरमा शून्य दशमलव शून्य तीन प्रतिशत विन्दुले वृद्धि गरेको छ।
ब्याजदर घटाउने बैंकहरूको सूचीमा सिद्धार्थ बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिटिजन्स बैंक, हिमालयन बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। तीमध्ये हिमालयन बैंकले सबैभन्दा उच्च दरले कटौती गर्दै व्यक्तिगत मुद्दती निक्षेपमा शून्य दशमलव पचास प्रतिशत विन्दु र संस्थागत निक्षेपतर्फ शून्य दशमलव पच्चीस प्रतिशत विन्दुले ब्याजदर घटाएको छ।
त्यस्तै, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपतर्फ शून्य दशमलव पच्चीस प्रतिशत विन्दुले कटौती गरेका छन्। नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राख्दै संस्थागत निक्षेपमा शून्य दशमलव चौवन्न प्रतिशत विन्दुले कटौती गरेको छ। सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक र एभरेष्ट बैंकले क्रमशः शून्य दशमलव पैंतीस, शून्य दशमलव पच्चीस र शून्य दशमलव बीस प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् भने कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले न्यून दरमा कटौती गरेका छन्।
यता प्राइम कमर्शियल बैंक, नेपाल बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र एनएमबि बैंकले भने वैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेका छन्।
बैंकहरूले ब्याजदर घटाउँदा निक्षेपकर्ताको आम्दानीमा केही कमी आउने भए पनि यसले बैंकहरूको आधार दर घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आधार दर घटेसँगै कर्जाको ब्याजदर पनि घट्ने भएकाले उद्यमी तथा व्यवसायीहरूलाई सस्तो दरमा ऋण उपलब्ध हुने सम्भावना बढ्ने देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे