
काठमाडौँ । तराई क्षेत्रमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेपछि जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि घाम नलाग्दा चिसो अत्यधिक बढेको छ भने दैनिक कामकाजमा समस्या देखिएको छ। विशेष गरी बिहान र बेलुकीको समयमा दृश्यता निकै कम हुँदा सडक तथा हवाई यातायात प्रभावित भएका छन्।
कुहिरोका कारण महेन्द्र राजमार्गसहित विभिन्न भित्री सडकखण्डमा सवारी साधनको गति घटेको छ। बस, ट्रक र मोटरसाइकल चालकले बत्ती बालेर तथा अत्यन्तै सावधानी अपनाएर सवारी चलाउनुपरेको छ। कतिपय स्थानमा साना दुर्घटना समेत भएका खबर आएका छन्। हवाई उडानसमेत प्रभावित हुँदा यात्रुहरू अलपत्र परेका छन्।
चिसो बढेसँगै विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्ग बढी प्रभावित भएका छन्। बिहानको चिसोका कारण खेतबारीमा काम गर्ने किसान र दैनिक ज्यालादारी मजदुरलाई काम गर्न कठिन भएको छ। स्थानीय स्वास्थ्यकर्मीका अनुसार चिसो र कुहिरोका कारण रुघाखोकी, ज्वरो, दम र श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न थालेको छ।
मौसमविद्हरूले केही दिन अझै हुस्सु र कुहिरो कायमै रहने सम्भावना रहेको बताएका छन्। यस अवस्थामा अत्यावश्यक काम बाहेक बिहानको समयमा बाहिर ननिस्कन, न्यानो कपडा लगाउन र सवारी चलाउँदा सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे