
काठमाडौँ। नेपाली सेनाद्वारा आयोजना गरिएको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता–२०८२’ आज सम्पन्न भएको छ। नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको आयोजनामा सैनिक मुख्यालयमा आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन प्रधान सेनापति अशोकराज सिग्देलले गर्नुभएको हो। प्रतियोगिता ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नाराका साथ सञ्चालन गरिएको थियो।
प्रतियोगिताअन्तर्गत ४२.१९५ किलोमिटर दूरीको पुरुष म्याराथन तथा महिला र पुरुष दुवै विधामा २१ किलोमिटर दूरीको हाफ म्याराथन आयोजना गरिएको थियो। म्याराथनतर्फ पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
हाफ म्याराथनमा महिला र पुरुष दुवै विधातर्फ प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीलाई क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यसैगरी सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालयमा कार्यरत कर्मचारी, सेवारत तथा अवकाशप्राप्त सैनिक र गैरसैनिकका कक्षा १० देखि १२ सम्म अध्ययनरत सन्तानको सहभागितामा १० किलोमिटर दूरीको दौड सम्पन्न भएको छ।
पाँच किलोमिटर दूरीको वाकाथनमा प्रधान सेनापति सिग्देलसहित सैनिक तथा गैरसैनिक व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। साथै सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्राका लागि पाँच किलोमिटर दूरीको दौड पनि आयोजना गरिएको थियो। १० किलोमिटर र पाँच किलोमिटर दौडतर्फ महिला र पुरुष दुवै विधामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने धावकलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
विसं २०७२ देखि महाशिवरात्री तथा सेना दिवसका अवसरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको यस ११औँ संस्करणको प्रतियोगितामा पाँच विभिन्न विधामा करिब दुई हजार ५०० धावकको सहभागिता रहेको थियो। यस वर्ष महाशिवरात्री तथा सेना दिवस फागुन ३ गते परेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे