
भक्तपुर, २०८१ फागुन ११ (आइतबार) – जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनजाति मामिला आयोगका माननीय मन्त्री फान यूए नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले भक्तपुर दरबार स्क्वायरमा रहेका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको अवलोकन गरेको छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दरबार क्षेत्रको प्रवेशद्वारमा टोलीलाई पुष्पगुच्छा, भादगाउँले टोपी, खादा र परम्परागत थैली प्रदान गर्दै स्वागत गरेका थिए। सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुरको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै मूर्त तथा अमूर्त सम्पदाले विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बताएका छन्।
अवलोकनका क्रममा मन्त्री फान यूएले भक्तपुरका सम्पदा तथा कलाकृतिहरू प्रति प्रशंसा व्यक्त गर्दै घुम्न धित नपुगेको अनुभव गरेको बताएका छन्। साथै, आगामी दिनमा पुनः भक्तपुर भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्।
प्रतिनिधिमण्डलले राष्ट्रिय कला संग्रहालय, स्वर्णद्वार, पचपन्न झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, सिलु महादेव मन्दिर तथा चतुर्ब्रह्म महाविहार अवलोकन गरेको थियो। त्यसपछि टोलीले टौमढी क्षेत्रमा रहेको पाँचतले मन्दिर, भैरवनाथ मन्दिर, गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर हुँदै तालाक्व क्षेत्रमा मृत्तिका कलाको पनि अध्ययन गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे