काठमाडौं । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच थप विवाद बढेको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव चुलिएकामा अहिले थप बढेको हो ।
पछिल्लो पटक ताइवानले आफ्नो अत्याधुनिक लडाकु विमानसहित सैन्य अभ्यास समेत गरेको छ । यसअघि चीनले पाँच दिन लामो सैन्य अभ्यास गरेको थियो । ताइवानले आफूमाथि आक्रमण गर्न चीनले सैन्य अभ्यास तीव्र पारेको बताएपछि अमेरिकाले चर्को आलोचना गरेको थियो ।
तर, चीनले सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने संकल्पलाई गलत अनुमान नगर्न अमेरिकासँग आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षाका लागि चीनको दृढ संकल्पलाई गलत अर्थका रुपमा नबुझ्न अमेरिकी पक्षलाई आग्रह गरेका हुन् ।
अमेरिका एक चीन नीतिप्रतिको आफ्नो प्रतिबद्धताबाट पछि हटेको उनको आरोप छ । पछिल्लो पटक ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच विवाद बढेको छ ।
यसैबीच मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ताइवानमा अमेरिकाले युद्ध भड्काउन खोजेको आरोप लगाएका छन् । पश्चिमा देशहरूको आलोचकका रूपमा परिचित पूर्वप्रधानमन्त्री महाथिरले अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले बेइजिङले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप ठानेको उल्लेख गरे ।
चीनले चाहेमा जुनसुकै बेला आक्रमण गर्न सक्ने तर अहिलेसम्म त्यसो नगरेकाले अब पनि ताइवानमा आक्रमण गर्छ भन्ने आफूलाई नलागेको उनको भनाई छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे