
काठमाडौँ । आज छठ पर्वको मुख्य दिन हो । यो पर्वमा साँझ अस्ताउँदो सूर्यलाई पूजा गरेर अर्घ्य दिइन्छ । बिहानै स्नान गरी दिनभर व्रत बस्ने र बेलुकी सूर्य अस्ताउँदा पूजा गर्ने परम्परा छ । छठ पर्व चार दिनसम्म मनाइन्छ – चतुर्थीदेखि सप्तमीसम्म ।
पुराणका अनुसार द्रौपदी र पाँच पाण्डवले गुप्तवास सफल होस् भनी सूर्यदेवको पूजा गरेका थिए । त्यसबेलादेखि यो पर्व मनाउने चलन सुरु भएको मानिन्छ । सूर्य पुराणमा पनि अत्रिमुनिकी पत्नी अनुसूयाले व्रत गरेर पतिप्रेम र सौभाग्य प्राप्त गरेको कथा पाइन्छ ।
सूर्यलाई जीवन र स्वास्थ्यको स्रोत मानिन्छ । सूर्यको किरणले अनेक रोग निको पार्न सक्छ भन्ने विश्वास छ । साम्ब पुराणमा श्रीकृष्णका छोरा साम्बले सूर्यको आराधनाले कुष्ठरोग निको पाएको कथा पनि उल्लेख छ ।
छठ व्रतले दुःख, दरिद्रता र रोगबाट मुक्ति दिन्छ भन्ने जनविश्वास छ । आर्थिक अवस्था जस्तो भए पनि सबैले यो पर्व श्रद्धापूर्वक मनाउँछन् ।
आज बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समाप्त हुन्छ । राजधानीका गौरीघाट, गुह्येश्वरी, कमलपोखरीलगायत ठाउँहरूमा पूजा–सजावट गरिएको छ । यो पर्व अहिले राष्ट्रिय स्तरमा मनाइने पवित्र चाड बनेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे