
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच भएको सात बुँदे सहमतिले नेपाली राजनीतिमा सकारात्मक सन्देश दिएको टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेता भण्डारीले रवि र बालेनबीचको सहकार्यले अब अन्य राजनीतिक शक्तिहरूले पनि जिम्मेवारी लिन र दिन सक्नुपर्ने, आपसी विश्वास निर्माण गर्दै मिलेर अघि बढ्नुपर्ने सन्देश दिएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, “रवि जी र बालेन जीको मिलनले अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्छ भन्ने सन्देश दिन्छ। यही सन्देश हरेक घटनाले असल विद्यार्थीलाई सिकाउँछ।”
यसैबीच, नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पनि रवि–बालेन सहमतिपछि व्यंग्यात्मक टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा अब उज्यालो नेपालका कुलमान घिसिङ र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) मिल्न बाँकी रहेको संकेत गरेका हुन्।
उल्लेखनीय छ, आइतबार रातिदेखि चलेको लामो छलफलपछि सोमबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच आपसी सहकार्य र एकतासम्बन्धी सात बुँदे सहमति भएको थियो। उक्त सहमतिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न कोणबाट प्रतिक्रिया आउन थालेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे