
काठमाडौँ । अर्थ मन्त्रालयले पूँजी बजार सुधारका लागि विशेष ४ सदस्यीय कार्यदल गठन गरेको छ। अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा रुपेश केसीको संयोजकत्वमा बनेको यस कार्यदललाई तत्काल सुधारका सुझाव र कार्ययोजना पेस गर्ने जिम्मेवारी दिइएको छ।
कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कामु कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका शरद निरौला सदस्य सचिवको रूपमा रहेका छन्। कार्यदललाई पूँजी बजारमा देखिएका विसंगति र समस्याहरूको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने दिशा निर्देशिका तयार गर्ने जिम्मेवारी दिइएको छ।
अर्थ मन्त्रालयका अनुसार, कार्यदलले प्रणालीगत तथा प्रक्रियागत सुधारका उपायहरू पहिचान गरेर ठोस कार्यान्वयन कार्ययोजना तयार गर्नेछ। साथै, बजारको पारदर्शिता, विश्वसनीयता र लगानीकर्ताको सुरक्षालाई सुनिश्चित गर्ने सुधारहरूलाई प्राथमिकतामा राखिने बताइएको छ।
कार्यदललाई ५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। यसले पुँजी बजारमा आवश्यक सुधारका लागि छोटो अवधिमा कार्यान्वयन गर्न सकिने र दीर्घकालीन सुधार योजनाको आधार तय गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे