
काठमाडौं । बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्दै तीन नयाँ मन्त्री नियुक्त गरेको छ। मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा बुधबार नियुक्त गरिएका मन्त्रीहरु गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठले आज (बिहीबार) शपथग्रहण गर्ने भएका छन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार शपथग्रहण कार्यक्रम दिउँसो १ बजेका लागि तय गरिएको छ। नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण शपथ समारोहलाई आजका लागि सारिएको हो।
यसैबीच, नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन आएको छ। बुधबार सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा मुख्यमन्त्री लामा आफ्नै दलका नेता इन्द्रबहादुर बानियाँसँग पराजित भएका छन्। चुनावमा हारपछि मुख्यमन्त्री लामामाथि पद त्याग गर्न कांग्रेसभित्र दबाब चुलिँदै गएको छ।
नयाँ संसदीय दलका नेता बनेका बानियाँले लामासँग इमान्दारीपूर्वक राजीनामा मागेका छन्। उनले सार्वजनिक रूपमै यदि स्वेच्छिक रूपमा राजीनामा नआएमा पद्धति र प्रक्रियाबाट लामालाई पदबाट हटाउने चेतावनीसमेत दिएका छन्। तर, मुख्यमन्त्री लामाले भने संसदीय दलको नेतृत्व गुमाएको भन्दैमा आफूले पद छाड्नुपर्ने बाध्यता नरहेको प्रष्ट पारेका छन्।
राजनीतिक अन्योल र दबाबबीच आज हुने मन्त्रिपरिषद् विस्तारलाई सत्ता सन्तुलनको नयाँ प्रयासका रूपमा हेरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे