
काठमाडौँ ।लगातार छ महिना मूल्य अभिवृद्धि कर (भ्याट) विवरण नबुझाउने करदातामाथि आन्तरिक राजस्व विभागले निलम्बन कारबाही थालेको छ। भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयमा दर्ता भएका २ हजार ३७३ भ्याट करदातालाई विभागले निलम्बन गरेको हो।
विभागका अनुसार निलम्बनमा परेका करदाताको कारोवार रोक्का गरिएको छ भने उपभोक्तालाई यस्तो संस्थाबाट खरिद बिक्री नगर्न समेत आग्रह गरिएको छ।
दुई हजार ४०० मध्ये २७ जनाले मात्रै विवरण बुझाए
आन्तरिक राजस्व कार्यालय भरतपुरका सूचना अधिकारी विमल पौडेलका अनुसार, उक्त कार्यालयमा दर्ता भएका २ हजार ४०० भ्याट करदातामध्ये सार्वजनिक सूचना जारी भएपछि २७ जनाले मात्रै विवरण बुझाएका थिए। बाँकीले विवरण नबुझाएपछि विभागले उनीहरूको दर्ता निलम्बन गर्ने निर्णय गरेको हो।
उनका अनुसार यस्तो निलम्बन मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा (८) बमोजिम गरिएको हो।
“नियम अनुसार लगातार छ महिना विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरी दर्ता निलम्बन गरिएको हो,” पौडेलले बताए।
कारोबार नभए पनि विवरण अनिवार्य
पौडेलका अनुसार करदातामा कर विवरण बुझाउनुपर्ने ज्ञान छ, तर कतिपयले कारोबार नभएको बहानामा विवरण बुझाउन बेवास्ता गरेका छन्।
“नबुझेर होइन, कारोबार नभएर पनि विवरण नबुझाएको देखिन्छ। तर, कारोबार नभए पनि राज्यलाई विवरण बुझाउनुपर्ने शिक्षा पुर्याउने बेला आएको छ,” उनले बताए।
९५ हजार बढी करदाता निलम्बित
देशभरका करदातालाई समेत कारबाही बढाइएको छ। आन्तरिक राजस्व विभागका अनुसार यसपटक देशभरका ९५ हजार ३४९ करदाताको नामावली सार्वजनिक गर्दै निलम्बन गरिएको छ।
भरतपुर जिल्लामा मात्रै १० हजारभन्दा बढी भ्याट करदाता रहेका छन् भने ७२ हजारभन्दा बढी करदाताको संख्या छ। यद्यपि ज्ञान हुँदाहुँदै विवरण नबुझाउने प्रवृत्तिका कारण विभागलाई निलम्बन कारबाही गर्नुपरेको विभागले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे