
काठमाडौँ – संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे हुनेछ ।
प्रतिनिधिसभाको बैठकमा आज ‘संघीय निजामती सेवा विधेयक, २०८०’ पारित गर्ने कार्यसूची तय गरिएको छ । मुलुक संघीय संरचनामा गए पनि प्रशासनिक संघीयता कार्यान्वयनमा जटिलता देखिएको भन्दै गुनासो हुँदै आएको छ । यसअघि असार ३ गते प्रतिनिधिसभामा पारित गर्ने भनिएको सो विधेयक अन्तिम समयमा रोकिएको थियो ।
आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित’ सो विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्नुहुनेछ । छलफलपछि विधेयक पारित भई राष्ट्रियसभामा पठाइनेछ । राष्ट्रियसभाबाट पारित भएपछि प्रतिनिधिसभामा फिर्ता आउने र सभामुखले प्रमाणित गरी राष्ट्रपतिसमक्ष पेस गरिनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक कार्यान्वयनमा आउनेछ ।
यसैबीच, राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत १४ वटा मन्त्रालयका शीर्षकमाथि समूहीकृत छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे