
काठमाडौं, भदौ ५ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा प्रवेश गर्ने संकेतस्वरूप राजधानीको थापागाउँस्थित लाखेचौर मार्गमा सम्पर्क कार्यालय स्थापना गर्न लागेकी छिन्। भाडामा लिइएको घरमा आज दिउँसो २ बजे औपचारिक उदघाटन कार्यक्रम तय गरिएको छ।
यद्यपि भण्डारी पक्षले यसलाई प्रत्यक्ष “सम्पर्क कार्यालय” नभई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालयका रूपमा प्रस्तुत गरेको छ। समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल रहेका छन्।
समितिकी संरक्षक समेत रहेकी भण्डारीले कार्यालय उदघाटन गर्ने तयारी गर्दैछिन्। पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ, जसले जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारीको योगदानबारे वर्षभर विभिन्न कार्यक्रम गर्ने घोषणा गरेको थियो।
तर पछिल्ला राजनीतिक परिस्थिति फरक बनेका छन्। एमाले नेतृत्वले भण्डारीलाई पार्टी सदस्यता नवीकरण नगरेको र उनको प्रत्यक्ष राजनीतिक प्रवेशमा अवरोध गर्न खोजेको सन्दर्भमा यो कार्यालयलाई नयाँ राजनीतिक गतिविधिको केन्द्रका रूपमा प्रयोग गरिने बुझिएको छ। एक निकटस्थ नेताका अनुसार थापागाउँको घरलाई भण्डारीले आफ्नो सम्पर्क कार्यालयका रूपमा उपयोग गर्ने योजना बनाएको स्पष्ट देखिन्छ।
राजनीतिक विश्लेषकहरू भन्छन्, भण्डारी पक्षधरले यस कार्यालयमार्फत एमालेभित्रको शक्ति सन्तुलनमा प्रभाव पार्ने र आन्तरिक संघर्षलाई गति दिने रणनीति लिएका छन्। यसले एमालेभित्रको समूहगत प्रतिस्पर्धालाई झनै चर्काउने संकेत गरेको छ।
थापागाउँको यो घर भण्डारी परिवार र मदन भण्डारीसँग ऐतिहासिक रूपमा पनि जोडिएको छ। २०४८ सालको आमनिर्वाचनमा मदन भण्डारीले यही घरलाई चुनावी मुख्यालयका रूपमा प्रयोग गरेका थिए। त्यस्तै, २०५१ सालको उपनिर्वाचनमा विद्यादेवी भण्डारीले पनि यही घरबाट चुनावी अभियान सञ्चालन गरेकी थिइन्।
आज फेरि त्यही घर पुनः भाडामा लिएर भण्डारीले नयाँ राजनीतिक गतिविधि आरम्भ गर्ने तयारीले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको छ। यसबाट स्पष्ट हुन्छ—पूर्वराष्ट्रपति भण्डारी अब केवल पूर्वराष्ट्रपति मात्र नभई सक्रिय राजनीतिक शक्ति केन्द्रका रूपमा अघि बढ्ने तयारीमा छिन्।
थापागाउँमा उद्घाटन हुने यो कार्यालयले विद्यादेवी भण्डारीको पुनः सक्रिय राजनीतिक भूमिकाको संकेत गरेको छ। यसले एमालेको आन्तरिक समीकरणमा ठूला हलचल ल्याउने देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे