
काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान सरकारका दुई मन्त्रीमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लगाएका छन्। उनले उर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनालले मिलेर करिब ५ अर्ब रुपैयाँको ‘सेटिङ’ गरेको दाबी गरेका हुन्। बस्नेतको आरोप सार्वजनिक भएपछि शिक्षामन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा प्रतिवाद गरेका छन्।
मन्त्री पुनले बस्नेतकै पोस्ट सेयर गर्दै विगतमा बसेको सरकारले देशलाई “स्वर्ग बनाएको जस्तो नाटक गरेको” टिप्पणी गर्दै ती आरोपलाई हल्का र हाँसोको विषयका रूपमा व्याख्या गरेका छन्।
बस्नेतले जलविद्युत क्षेत्रमा अघिल्लो सरकारले अपनाएको नीतिगत निर्णयको उपेक्षा गर्दै सरकारले पुनः ‘टेक–अथवा–पे’ मोडेलमा अघि बढ्न खोजेको आरोप दोहोर्याएका छन्। उनका अनुसार आन्तरिक विद्युत खपत नबढेको, भारतीय बजार सुनिश्चित नभएको, रन–अफ–द–रिभर आयोजनाको उच्च अनुपात र प्राधिकरणको कमजोर वित्तीय अवस्था यस्ता पीपीएका लागि प्रतिकूल छन्।
तर, हाल प्रवर्द्धकसँग प्रति मेगावाट करिब १० लाख उठाउने लक्ष्यसहित ५ हजार मेगावाट क्षमताको ‘टेक–अथवा–पे’ पिपिए ल्याउन घिसिङ–खनाल संयोजनले तयारी गरेको उनको आरोप छ। अर्थ मन्त्रालयको सहमतिसहित मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको दाबी गर्दै बस्नेतले यस्तो निर्णय कार्यान्वयन भएमा विद्युत प्राधिकरण गम्भीर आर्थिक संकटतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे