
काठमाडौं। बसन्तपुरमा मंगलबार बिहान शुभ साइतमा रंगचंगी झण्डाले सजाइएको झण्डै ३० फीट अग्लो चीर ठड्याइएसँगै फागु (होली) पर्वको औपचारिक सुरुवात भएको छ।
पौराणिक र सांस्कृतिक परम्पराअनुसार, फाल्गुन शुक्ल अष्टमी का दिन चीर उठाउँदा देशभर फागु पर्व सुरु हुने विश्वास रहिआएको छ। पर्वको समाप्ति पूर्णिमाको राति चीर ढालेर टुँडिखेलमा दहन गर्दा हुने परम्परा छ।
बसन्तपुरमा चीर ठड्याएपछि सहभागीहरूले एकअर्कालाई अबिर दलेर पर्वको शुभारम्भ गरेका थिए। यस अवसरमा स्थानीय र पर्यटकहरू बीच उत्सवपूर्ण माहोल सिर्जना भएको थियो।
यस वर्ष फागु पर्व पहाडी क्षेत्रमा फागुन १८ गते र तराईका जिल्लाहरूमा फागुन १९ गते मनाइँदैछ। पर्वको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, होली खेल, र मेलापात आयोजना गरिने तयारी गरिएको छ।
फागु पर्व केवल रंग र खेलको पर्व मात्र नभई, सामाजिक मेलमिलाप, आपसी सद्भाव र नयाँ मौसमको स्वागत गर्ने सांस्कृतिक अवसरको रूपमा समेत महत्वपूर्ण छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे