
काठमाडौँ । बंगलादेश र संयुक्त राज्य अमेरिका बीच नयाँ व्यापार सम्झौता भएको छ, जसअनुसार बंगलादेशले अमेरिकी सामानमा लाग्ने भन्सार कर १९ प्रतिशतले घटाएको छ। यस सम्झौताले अमेरिकी कच्चा पदार्थ प्रयोग गरेर बंगलादेशमा बनेका केही कपडा र पोशाकहरूलाई विशेष छुट दिनेछ। यो सम्झौता सोमबार सार्वजनिक गरिएको हो।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसका अनुसार अब अमेरिकी कपास र मानव निर्मित फाइबर प्रयोग गरेर बंगलादेशमा बनेका केही कपडा अमेरिकी बजारमा बिना कर निर्यात गर्न सकिने व्यवस्था मिलाइनेछ। यसले बंगलादेशका कपडा उद्योगलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।
ह्वाइट हाउसका अनुसार बंगलादेशले अमेरिकी रसायन, औषधि उपकरण, मेसिनरी, सवारी साधन र तिनका पार्टपुर्जा, कृषि तथा खाद्य सामग्री जस्ता धेरै वस्तुहरूमा अमेरिकी कम्पनीलाई सजिलो पहुँच दिने सहमति जनाएको छ। साथै, बंगलादेशले अमेरिकी सवारी सुरक्षा मापदण्ड स्वीकार गर्ने, अमेरिकी खाद्य तथा औषधि प्रशासनको प्रमाणपत्र मान्यता दिने र आयातसम्बन्धी केही अवरोध हटाउने भएको छ।
यस सम्झौताअन्तर्गत बंगलादेशले अमेरिका बाट विमान, कृषि उत्पादन र ऊर्जा सामग्री पनि ठूलो परिमाणमा खरिद गर्नेछ। सम्झौता नौ महिनासम्म चलेको वार्तापछि भएको हो। बंगलादेशले श्रमिकको अधिकार र वातावरण संरक्षणलाई पनि बलियो बनाउने प्रतिबद्धता जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे