
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लाई लोकतन्त्र र संविधान पुनः बलियो बनाउने वर्ष बनाउनुपर्ने बताएका छन्। नयाँ वर्ष २०२६ को अवसरमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सन् २०२५ नेपालका लागि कठिन र दुःखद वर्ष भएको बताए।
ओलीका अनुसार २०२५ मा लोकतन्त्र कमजोर पार्ने र संविधान मिच्ने प्रयासहरू भए। जनताले चुनेको सरकार ढालिनु भनेको लोकतन्त्र र संविधानमाथि नै प्रहार हुनु हो भन्ने उनको भनाइ थियो। उनले जनताको सार्वभौमसत्तामाथि आघात पुगेको भन्दै नेपाली जनताको सचेतनाका कारण प्रतिगमनकारी प्रयासहरू पूर्ण रूपमा सफल हुन नसकेको बताए।
उनले वर्तमान सरकारलाई असंवैधानिक भन्दै संसद् अनधिकृत व्यक्तिको सिफारिसमा विघटन गरिएको दाबी गरे। यो केवल प्रधानमन्त्री परिवर्तनको विषय नभई लोकतान्त्रिक प्रक्रिया र प्रणालीमाथिको आक्रमण भएको ओलीको भनाइ छ।
प्रतिनिधिसभा निर्वाचनको मिति तोकिए पनि निर्वाचनका लागि आवश्यक वातावरण नबनाइएकोप्रति उनले चिन्ता व्यक्त गरे। उनले चेतावनी दिँदै भने, नेतामाथि झुटा मुद्दा लगाउने, अशान्ति फैलाउने, हतियार लुट्ने र जेल तोड्नेहरूलाई अगाडि सारेर निर्वाचन गरिएमा त्यो लोकतन्त्रको नाममा देखाइने नाटक मात्र हुने खतरा छ।
ओलीले निष्पक्ष, स्वतन्त्र र सुरक्षित वातावरणमा मात्रै निर्वाचन हुनुपर्नेमा जोड दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे