काठमाडौँ, ३ असोज । नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भई नर्बौँ वर्षमा प्रवेश गरेको अवसरमा बुधबार संविधान दिवस मनाईदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो । संविधान दिवस संविधान जारी भएको दिनको सम्झनामा मनाइने दिवस हो।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्यो ।
नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधानहरू लागू भएका छन्। त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ। पछिल्लो समय नेपालको संविधान २०७२जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइन्छ। सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गर्नुभएको थियो ।
यसै दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक नियकायका प्रमुख, मन्त्रिगण, विभिन्न राजनीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, राष्ट्रसेवक कर्मचारीलगायतको उपस्थिति रहने जनाइएको छ । प्रधानमन्त्रि प्रचण्ड भने अमेरीकाको भ्रमणमा रहेकाले यो समरोहमा सरीक हुने छैनन् ।
समारोहमा पुष्पवृष्टि, संविधान दिवस–२०८० अंकित तुल प्रदर्शन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक सङ्घसंस्थाबाट विभिन्न जातजातिको वेशभूषा झल्कने झाँकी। प्रदर्शन, काठमाडौँ र ललितपुर महानगरपालिकाबाट विशेष झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा रोचक कार्यक्रम प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे