
काठमाडौँ । देशमा उत्पन्न अस्थिरता र सुरक्षाको चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेना र अन्य सुरक्षा निकाय शान्ति, सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
निर्देशनालयद्वारा आज जारी सूचनामा समाजमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन आम नागरिकलाई सचेत रहन, समुदायस्तरमै एकजुट भएर निगरानी गर्न र सुरक्षाकर्मी पुग्नुअघि नै आवश्यक सूचना आदानप्रदान गर्न आग्रह गरिएको छ।
सूचनामा भनिएको छ, यदि तपाईंको टोल, छिमेक वा आसपास विध्वंसात्मक, अराजक गतिविधि वा लुटपाट जस्ता गतिविधि देखिएमा तुरुन्तै नेपाली सेनाको ९८६३०२९०२९ नम्बरमा सन्देश पठाउन अनुरोध गरिन्छ।
साथै, सेनाले केही उच्छृङ्खल समूहहरूले सामाजिक सञ्जालमार्फत गलत तथा भ्रामक सूचना फैलाएर जनमानसमा त्रास फैलाउने प्रयास गरिरहेको भन्दै यस्तो अवस्थामा सही जानकारी मात्र सन्देश गर्नु र गलत सूचनालाई खारेज गर्नु नागरिक कर्तव्य भएको स्पष्ट पारेको छ।
स्थिति अझ जटिल नबनोस् भनेर सबैले संयमता अपनाउन जरुरी छ। सुरक्षाकर्मीहरू आफ्ना स्थानमा सक्रिय छन् तर समुदायको सहयोगबिना पूर्ण नियन्त्रण सम्भव हुँदैन, सूचनामा भनिएको छ। सेनाले सबै नागरिकलाई आ(आफ्नो सुरक्षामा सजग रहनुका साथै राष्ट्रका लागि जिम्मेवार नागरिकको भूमिकामा खटिन पनि आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे