
धनगढी । सशस्त्र प्रहरी बल नेपालको २५ औँ वार्षिकोत्सव (रजतजयन्ती) को अवसरमा सुरु गरिएको पूर्व–पश्चिम झण्डा मार्च मङ्गलबार कैलाली पुगेको छ। कञ्चनपुरको गड्डाचौकीबाट पुस २० गते सुरु भएको झण्डा मार्च धनगढी प्रवेश गर्दा स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा सर्वसाधारणले स्वागत गरेका छन्। कञ्चनपुरको टोलीले कैलाली प्रवेशसँगै डोकेबजारमा आयोजित कार्यक्रममा झण्डा कैलालीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीलाई हस्तान्तरण गरेको छ।
सशस्त्र प्रहरी बल नेपालका ३५ नम्बर गण धनगढीका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र रन्जितका अनुसार राष्ट्रिय झण्डा र सशस्त्र प्रहरी बलको झण्डासहित सञ्चालन भइरहेको झण्डा मार्च २४ सै घण्टा जारी रहनेछ। गड्डाचौकीबाट सुरु भएको मार्च १८ दिनको अवधिमा सीमावर्ती क्षेत्र हुँदै पर्साको ठोरीसम्म पुग्ने कार्यक्रम रहेको छ। कैलालीबाट अघि बढेको झण्डा मार्च पुस २५ गते बर्दिया पुग्ने र त्यहाँ आयोजित कार्यक्रममा बर्दियामा खटिएको सशस्त्र प्रहरी बलको टोलीलाई झण्डा हस्तान्तरण गरिनेछ।
यसैगरी पुस २० गते झापाको काकडभिट्टाबाट सुरु भएको अर्को झण्डा मार्च टोलीसँग माघ ७ गते नवलपुरमा भेट भई पूर्व–पश्चिम झण्डा मार्च समापन गरिने सशस्त्र प्रहरी बलले जनाएको छ। डोकेबजारमा आयोजित कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी प्रमुख अतिथि थिए। उनले झण्डा मार्चले सीमा क्षेत्रमा नागरिक र सुरक्षा निकायबीचको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। कार्यक्रममा कैलाली र कञ्चनपुरका सशस्त्र प्रहरी बल तथा भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे