
काठमाडौँ। जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईको राजीनामा माग गर्दै आज आयोगको कार्यालयमा निवेदन दर्ता गराएको छ। मंगलबार अलायन्सका प्रतिनिधिहरूले प्रत्यक्ष रूपमा निवेदन बुझाएका हुन्।
अलायन्सले प्रमुख राईको नाम वाइडबडी घोटाला र अन्य भ्रष्टाचार मुद्दासँग जोडिएको आरोप लगाउँदै आयोगको निष्पक्षतामा शंका रहेको जनाएको छ। संसद् नभएको अवस्थामा महाभियोग सम्भव नभएकाले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा अलायन्सले जोड दिएको छ।
जेनजी मुभमेन्टले निवेदनमा खुला आवेदन प्रक्रियामार्फत योग्य र सक्षम नयाँ प्रमुख आयुक्त नियुक्त गर्न सरकारसँग माग गरेको छ। उनीहरूले वर्तमान नेतृत्वले सार्वजनिक विश्वास गुमाएको र आयोगको कार्यक्षमता कमजोर भएको बताए।
अलायन्सले चेतावनी दिएको छ कि यदि प्रमुख आयुक्तले राजीनामा दिनु भएन भने, आगामी दिनमा थप आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिनेछ। यसले सरकार र सम्बन्धित निकायहरूमा दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।
अख्तियारको निष्पक्षता र पारदर्शितालाई ध्यानमा राख्दै नागरिक समाज र राजनीतिक दलहरूले पनि आयोगको नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे