
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेपालजस्तो भूकम्पको उच्च जोखिम भएको देश केवल भवन र सडक बनाएर मात्रै सुरक्षित नहुने बताएका छन्। २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले देशको विकास भूगोल र जनताको दुवै पक्षलाई सँगसँगै अघि बढाएर मात्र सम्भव हुने बताए।
उनका अनुसार सुरक्षित राष्ट्र बनाउन इन्जिनियरिङ ज्ञानसँगै दीर्घकालीन सोच, जिम्मेवार नीति र इमानदार नेतृत्व आवश्यक छ। आफूले यही सोचका कारण विदेशमा राम्रो अवसर हुँदाहुँदै पनि देश फर्केर काम गर्ने निर्णय गरेको उनले उल्लेख गरे। नागरिकको विश्वासका कारण काठमाडौं महानगरको नेतृत्व सम्हाल्न पाएको भन्दै उनले शब्दभन्दा कामलाई प्राथमिकता दिएको बताए।
बालेन साहले स्थानीय तहले चाहे जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन सक्ने उदाहरण काठमाडौं महानगरले देखाएको दाबी गरे। पारदर्शी सेवा, संरचनागत सुधार र नागरिकले अनुभूति गर्न सक्ने कामहरू सुरु भइसकेको भन्दै अब ती अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने समय आएको बताए।
उनका अनुसार विकास भनेको ठूला संरचना मात्र होइन, सुरक्षित जीवन, जनताको आशा र देशमै भविष्य देख्ने वातावरण बनाउनु हो। अब देशलाई छोटो फाइदाका निर्णय होइन, दीर्घकालीन योजना र इमानदार शासन चाहिएको उनको भनाइ छ। सुरक्षित र दिगो नेपाल बनाउने अभियान सबै नेपालीको साझा जिम्मेवारी भएको उनले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे