
रूपन्देही । कामना सेवा विकास बैंक लिमिटेड ले रूपन्देही जिल्लाको सियारी गाउँपालिका–६ बर्दहवास्थित श्री दुर्गा देवी माध्यमिक विद्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त शिविरमा हाडजोर्नी तथा नसासम्बन्धी रोग, स्त्री तथा प्रसूति रोग, नाक–कान–घाँटी रोग, आन्तरिक रोग तथा दाँत र मुखसम्बन्धी समस्याको परीक्षण गरिएको थियो।
लुम्बिनी अस्पताल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टल को प्राविधिक सहयोगमा सम्पन्न शिविरमा ६०० भन्दा बढी स्थानीय बासिन्दाले स्वास्थ्य परीक्षण गराएका थिए। चिकित्सकहरूको टोलीले सहभागीहरूलाई आवश्यक परामर्श, सुझाव तथा प्रारम्भिक उपचारसम्बन्धी सेवा प्रदान गरेको थियो।
कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचन ले यस्ता स्वास्थ्य शिविरले समुदायको स्वास्थ्य स्तर सुधार गर्न महत्वपूर्ण योगदान गर्ने उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी बुटवल क्षेत्रीय प्रमुख हेमन्तबाबु आचार्य ले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिका लागि यस्ता पहल प्रभावकारी हुने धारणा राख्नुभयो।
शिविरप्रति स्थानीय समुदायले सकारात्मक प्रतिक्रिया जनाउँदै बैंक तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन्। कार्यक्रमले समुदायस्तरमै स्वास्थ्य समस्याको प्रारम्भिक पहिचान र रोकथाममा सहयोग पुगेको विश्वास गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे