
चितवन — नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले पश्चिम चितवन र माडी क्षेत्रमा आज ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी दिएको छ। गर्मीमा विद्युत् माग अत्यधिक बढेको र रोपाइँको समय परे पनि अकासे पानी नपरेकाले सिँचाइका लागि विद्युत् लोड बढी हुँदा वितरणमा समस्या देखिएको हो।
केन्द्र प्रमुख राजकुमार श्रेष्ठका अनुसार बिहान ३ घण्टा र दिउँसोदेखि साँझसम्म थप ३ घण्टा विद्युत् काटिनेछ। १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डगकन्डक्टर तारमा अधिकतम ३०० एम्पियर मात्रै प्रवाह गर्न मिल्ने भए पनि हाल लोड ४५० एम्पियर नाघेकाले आपूर्ति व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो।
चनौलीअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडर प्रभावित हुनेछन्। तालिकाअनुसार नारायणी–माडी फिडरमा बिहान ६ देखि ९ र दिउँसो ३ देखि ६ बजे, मेघौली–विजयनगर–शुक्रनगरमा बिहान ९ देखि १२ र बेलुका ६ देखि ९ बजे, र जगतपुर–रामपुरमा दिउँसो १२ देखि ३ र राति ९ देखि १२ बजेसम्म विद्युत् बन्द हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे