
काठमाडौँ – गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोप थप जटिल बन्दै गएको बताएका छन्। आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विपद् जोखिम न्यूनीकरण आजको आवश्यकता भएको स्पष्ट पारे।
गृहमन्त्री लेखकले मुलुकको भू–भाग, जलवायु, र वातावरणीय संरचनाले नेपाललाई प्राकृतिक र मानव सिर्जित विपद्को उच्च जोखिममा पुर्याएको उल्लेख गर्दै, संरचनागत सुधार र जोखिम न्यूनीकरणका प्रयासलाई बलियो बनाउने आवश्यकता औँल्याए। “सङ्घदेखि स्थानीय तहसम्म विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई सुदृढ पार्न जरुरी छ,” उनले भने।
उनले सम्मेलनलाई महत्त्वपूर्ण अवसरका रूपमा वर्णन गर्दै देशभरका बहुआयामिक साझेदारहरूलाई एकै ठाउँमा ल्याएर चुनौतीहरूको विश्लेषण र समाधानका रणनीति निर्माण गर्न सम्मेलनले योगदान दिने विश्वास व्यक्त गरे।
गृहमन्त्री लेखकले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, चट्याङ र अन्य प्राकृतिक प्रकोपहरूमा पछिल्ला वर्षमा उल्लेख्य वृद्धि भएको उल्लेख गरे। “विपद् व्यवस्थापनका लागि बहुआयामिक र वैज्ञानिक दृष्टिकोण आवश्यक छ,” उनले भने।
समुदायमा आधारित दृष्टिकोण र जनसहभागिताको महत्त्वमा जोड दिँदै, उनले स्थानीय तहमा विपद् व्यवस्थापन योजना निर्माण, क्षमता अभिवृद्धि, र जनचेतना अभियानलाई प्राथमिकता दिनुपर्ने बताए। प्रकोप व्यवस्थापनसम्बन्धी नीति तथा ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै उनले प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न सकिने प्रविधि र सूचना प्रणालीलाई सुदृढ पार्नुपर्ने आवश्यकता औँल्याए।
गृहमन्त्री लेखकका अनुसार नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा नीति निर्माण र संरचनात्मक सुधारमा उल्लेखनीय प्रगति गरेको छ। “विपद् व्यवस्थापनका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य छ,” उनले थपे।
सम्मेलनले विपद् न्यूनीकरणका क्षेत्रमा सहकार्य र रणनीतिक समाधानमा नयाँ दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे