
काठमाडौं । सरकारले ठेक्का लिएर पनि वर्षौंदेखि काम नगरी अलपत्र पारेका सिँचाइ आयोजनाका २२ वटा ठेक्का तोडेको छ। यी ठेक्काको कुल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ। लामो समयदेखि काम अघि नबढ्दा आयोजना रुग्ण बनेपछि ठेक्का तोड्ने निर्णय गरिएको हो।
तोडिएका ठेक्कामध्ये बबई सिँचाइ आयोजनाका ६ वटा छन्। त्यसैगरी सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधाम (धनुषा) अन्तर्गत १५ वटा र सुनकोशी–मरिन आयोजनाको १ वटा ठेक्का तोडिएको छ। भेरी–बबई आयोजनामा १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको हो भने जनकपुरधाम कार्यालयअन्तर्गत १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का रद्द गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएपछि मातहतका कार्यालयले प्रक्रिया अघि बढाएका हुन्। जलस्रोत तथा सिँचाइ विभागका अनुसार हाल २१५ ठेक्का चालू छन्, जसमध्ये ३३ वटा समस्याग्रस्त छन्। तीमध्ये २२ वटा ठेक्का हालसम्म तोडिइसकेको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो।
सिँचाइतर्फकै सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरवको सुनकोशी–मरिन बहुउद्देश्यीय आयोजनाको हो। बाँध, विद्युतगृह र अन्य संरचना निर्माणका लागि १४ अर्ब ८ करोड रुपैयाँमा भएको ठेक्का काम नहुँदा अन्ततः तोडिएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे