
काठमाडौं, १३ भाद्र । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी आर्थिक सहयोग कार्यक्रम (एमसीसी) सम्झौताका विषयमा संसदले पास गरेको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताएका छन् ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो धारण व्यक्त गरेका हुन् ।
उनले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने बताए । यद्यपि एमसीसी नेपालको संसदले अनुमोदन गरेको हुनाले कार्यान्वयनमा जाने ओलीले बताए ।
उनले भने, ‘सम्झौता बाहिरबाट कसले के घोषणा गर्छ? कसले के व्यख्यात्मक टिप्पणी गर्छ? भन्ने कुरा जनतालाई धोका दिन झुठ बोलिएको मात्रै हो।’
‘संसदले अनुमोदन गरेको कुरा कार्यान्वयनमा जान्छ’ ओलीले भने, ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो उहाँहरुले (सत्तापक्ष) नेपाली जनतालाई दिएको धोका मात्रै हो, त्यो धोकाको एउटा प्रमाण हो ।’
१२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंग हुन्छ भनेर तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले संसदमा झुट बोलेको ओलीले बताए । ‘१२ बुँदे व्याख्यात्मक घोषणाका सन्दर्भमा तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले एमसीसीले मानिसकेको छ, सम्झौताको अंग हुन्छ भनेर संसदमा नै बोलेर नेपाली संसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो र गलत प्रभाव पारेर पास गराउने बाटो लिनुभयो’ ओलीले भने ।
एमसीसी पास गर्नु उपयुक्त हो होइन भन्ने विषयमा बेग्लै ढंगले सोच्नुपर्नेमा सरकारले त्यसबेला झुट बोलेर पारित गराएको उनको भनाइ छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे