
काठमाडौं, ३ असोज । शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको आन्दोलन राजधानी केन्द्रित भएपछि काठमाडौंमा सवारी आवागमन अस्तव्यस्त भएको छ । सरकारले हालै संसदमा दर्ता गराएको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा असन्तुष्टि जनाउदै देशभरका शिक्षकहरुले आजदेखी काठमाडौंमा आन्दोलन सुरु गरेपछी ठाउँ ठाउँमा सवारी चाप बढेको हो ।
सामान्यतया विदाको दिन त्यति जाम नहुने सडक आज संविधान दिवसको दिन सार्वजनिक विदा हुँदासमेत भरिभराउ छन् । ट्राफिक प्रहरीले पनि व्यवस्थापन गर्न नसकिने गरेर यतिबेला काठमाडौंको केही मुख्य ठाउँमा सवारी चाप बढेको छ । माइतीघर मण्डला देखि नयाँ बानेश्वर सडक, नयाँ बानेश्वरबाट थापागाउँ, अनामनगर हुँदै पुतलीसडक जाने लगायत सडकमा लामै जाम लागिरहेको छ ।
महासंघले माग पूरा नभए आन्दोलन जारी राख्ने चेतावनी दिइरहँदा सरकार भने वार्तामा आउन भन्दै सुचना मात्र निकालीरहेको छ ।उक्त विधेयकको विरोधमा नेपाल शिक्षक महासंघले आजदेखि सबै सामूदायिक बिद्यालय बन्द गर्ने घोषणा गरेर काठमाडौं केन्द्रित आन्दोलन थालेको हो ।
शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन् ।
यो व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै महासंघले शिक्षकका पेसागत सुरक्षा, हकहित र सम्मानको माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको हो । सरकारले सोमबार नेपाल शिक्षक महासंघलाई वार्ताका लागि आह्वान गरेको थियो । तर महासंघले वार्ता अस्वीकार गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे