
काठमाडौं – नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच एकता गर्ने निर्णय भएको छ। आइतबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो। बैठकपछि प्रवक्ता अग्नि सापकोटाले दुवै पार्टीबीच वार्ता टोली बनाएर औपचारिक एकता प्रक्रिया सुरु गर्ने जानकारी दिए।
विप्लव समूह केही वर्षअघि भूमिगत सशस्त्र गतिविधिमा संलग्न थियो, तर सरकारले गरेको तीनबुँदे सहमतिपछि उनीहरू खुला राजनीतिमा फर्किएका हुन्। त्यहीबेलादेखि माओवादी केन्द्र र विप्लव समूहबीच एकताको विषयमा अनौपचारिक छलफल हुँदै आएको थियो।
अब वार्ता टोलीमार्फत पार्टी नाम, चुनाव चिन्ह, नेतृत्व संरचना लगायत विषयमा छलफल गरिनेछ। माओवादी केन्द्रको तर्फबाट अग्नि सापकोटा, जनार्दन शर्मा, देव गुरुङजस्ता नेताहरू वार्ता टोलीमा रहनेछन् भने विप्लव समूहले पनि शीर्ष नेताहरू पठाउनेछ।
दुवै पार्टीको मूल जरा माओवादी आन्दोलनमा भएकाले उनीहरूबीच वैचारिक मिल्दो-जुल्दो छ। यस एकताले वामपन्थी राजनीति फेरि एक ठाउँमा आउन सक्ने देखिएको छ। यद्यपि, यो निर्णयले सत्तारूढ गठबन्धनभित्र असहजता ल्याउने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे