
काठमाडौँ – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारका मनोनयनपत्र दर्ता हुने भएको छ। निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन आयोजना गर्ने जनाएको छ। यस निर्वाचनमा राष्ट्रियसभामा रिक्त हुने कुल १८ सदस्यका लागि मतदान हुने छ।
निर्वाचन आयोगले यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो भने मंगलबार अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ। आयोगले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरेको छ। आगामी पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने र पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिन सक्ने व्यवस्था छ। सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन हुनेछ।
यस्तै, पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ। मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, र अध्यक्ष/उपाध्यक्ष मतदाता हुन्। राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार आयोगले सार्वजनिक गरिसकेको छ।
राजनीतिक तालमेलको विषयमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच सिट बाँडफाँट तय भएको छ। कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट पाउने सहमति भएको छ। जसपा नेपालबाट महन्थ ठाकुरलाई उम्मेदवार बनाउने निर्णय भएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भने सिट बाँडफाँटमा सहमति नबन्दा एक्लै चुनावमा भाग लिन लागेको छ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले नेपाली कम्युनिस्ट पार्टीसँग तालमेल प्रयास भए पनि सिट बाँडफाँटमा सहमति नहुँदा अन्य तीन शक्ति बीच तालमेल हुने स्पष्ट पार्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे